Rule 81
निजी वन दर्ता
(१) निजीवन दर्ता गराउन चाहने कुनै व्यक्ति वा संस्थाले ऐनको .दफा-३५ बमोजिमको सिफारिस लिनका लागि देहाय बमोजिमका कागजात संलग्न गरी अनुसूची-४६ बमोजिमको ढाँचामा सब डिभिजन वन कार्यालय वा डिभिजन वन कार्यालयमा निवेदन दिनु पर्नेछ:-

(क) निजी वन दर्ता गराउन चाहेको जग्गाको आफ्नो हक भोग र स्वामित्व रहेको आधारसहितको जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि,

(ख) संस्थाको हकमा संस्था दर्ताको प्रमाणपत्रको प्रतिलिपि, संस्थाको नवीकरण खुल्ने कागजात र संस्थाको भ्याट वा प्यान सम्बन्धी कागजात,

(ग) मालपोत तिरेको रसिदको प्रतिलिपि,

(घ) नापी कार्यालयले प्रमाणित गरेको नक्सा र फिल्डबुकको प्रतिलिपि,

(ङ) नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ।

(२) उपनियम (१) बमोजिम -निवेदन परेमा सब डिभिजन वन कार्यालय वा डिभिजन वन कार्यालयले सो उपर आवश्यक जाँचबुझ गरी त्यस्तो निजी वन दर्ता गर्न उपयुक्त हुने देखेमा आफ्नो सिफारिस सहित निजी वन दर्ताको लागि सम्बन्धित स्थानीय तहमा लेखी पठाउनु पर्नेछ। यसरी जाँचबुझ गर्दा सब डिभिजन वन कार्यालय वा डिभिजन वन कार्यालयले आवश्यकता अनुसार नापी कार्यालयको सहयोग लिन सक्नेछ।

(३) उपनियम/(२)- बमोजिम पेस हुन आएको प्रतिवेदन सहितको सिफारिस पत्र समेतको आधारमा स्थानीय तहले त्यस्तो निजी वन दर्ता गरी:अनुसूची-४७ बमोजिमको ढाँचामा प्रमाणपत्र दिई सोको जानकारी डिभिजन वन कार्यालयलाई दिनु पर्नेछ।

(४). स्थानीय तहले दर्ता भएका निजी वनको अद्यावधिक लगत राख्नु पर्नेछ।

(५) डिभिजनल वन अधिकृतले निजी जग्गामा वृक्षारोपण गर्न तथा निजी वनको व्यवस्थापन गर्न आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउन सक्नेछ।

(६) ऐनको दफा ३६ को उपदफा (३) बमोजिम स्वीकृति लिई निजी वनको वन पैदावार स्थानीय तहभित्र ओसारपसार गर्दा स्थानीय तहले त्यस्तो वन पैदावारमा पहिचान गर्न सकिने चिन्ह वा सङ्केत लगाई दिनु पर्नेछ।

(७) ऐनको दफा ३६ को उपदफा (४) बमोजिम निजी वनको वन पैदावार एक स्थानीय तहबाट अर्को स्थानीय तहमा ओसारपसार गर्दा खरिदकर्ताले डिभिजन वन कार्यालयमा भएको टाँचा तथा सिल प्रयोग गरी ओसारपसार गर्नु पर्नेछ।